दफा ५५
मतगणना स्थलको अनधिकृत कब्जा
(१) देहायका अवस्थामा मतगणना स्थलको अनधिकृत कब्जा भएको मानिनेछः-
(क) कसैले बल प्रयोग गरी वा डर त्रास देखाई वा धम्की दिई मतगणना स्थललाई आफ्नो कब्जामा लिई मतगणनाको कार्यमा प्रभाव पारेमा,
(ख) कसैले बल प्रयोग गरी वा नगरी मतगणना कार्यमा खटिएको निर्वाचन अधिकृत वा कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिएमा वा निजको जिम्मामा रहेको मतपत्र, मतपेटिका, मतदानको लागि प्रयोग भएको विधुतीय उपकरण वा मतगणना सम्बन्धी अन्य सामग्री खोसेमा वा अन्य त्यस्तै कार्य गरी मतगणनाको कार्य निष्पक्ष तथा स्वतन्त्र रुपमा सामान्य ढङ्गले सञ्चालन नहुने वा हुन नसक्ने गरी प्रभावित गरेमा, वा
(ग) मतगणनाको कार्यमा संलग्न रहेको कुनै व्यक्तिले खण्ड (क) वा (ख) बमोजिमको कार्य गरेमा वा त्यस्तो कार्य गर्न सहयोग पुर्याएमा वा अनुमति दिएमा ।
(२) उपदफा (१) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएमा निर्वाचन अधिकृतले मतगणनाको कार्य तत्काल स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले त्यस्तो घटनाको सम्बन्धमा कुनै जाँचबुझ गर्नु पर्ने ठहर्याएमा आयोगको आयुक्त वा अनुगमन टोली खटाई जाँचबुझ गराउन सक्नेछ ।
(४) आयोगले उपदफा (२) बमोजिमको प्रतिवेदनको आधारमा वा उपदफा (३) बमोजिम जाँचबुझ गर्न खटाइएको आयुक्त वा अनुगमन टोलीको प्रतिवेदनको आधारमा त्यस्तो मतगणना स्थल उपदफा (१) बमोजिम अनधिकृत तवरले कब्जा भएको ठहर्याएमा त्यसरी कब्जाबाट असर परेको मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्नेछ ।
(५) आयोगबाट उपदफा (४) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुन मतदान हुने स्थान, मिति र समय तोकी सोको सूचना तुरुन्त मतदान केन्द्रमा प्रकाशन गर्नु पर्नेछ ।